एमालेबाट आङकाजी निष्काशित, जनजाति नेता रुष्ट


काठमाडौ, २ असार - पार्टीको नीति र निर्णय विपरित निरन्तर काम गरेको भन्दै एमाले स्थायी समितिले नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पालाई निस्काशन गरेको छ । 

उनी एमालेको सोलुखुम्वु जिल्ला कमिटीका उपसचिव थिए । उनी शुक्रबार माओवादीले खुलामञ्चमा गरेको सभामा महासंघका महासचिवका रुपमा सहभागी भएका थिए । उनले त्यहाँ जातीय पहिचानसहितको संघीयता र संघीयता विनाको संविधान अस्वीकार गर्ने उल्लेख गरेका थिए । 

'हो आङकाजी शेर्पालाई कारवाही गरिएको छ' पार्टी कार्यालयका सचिव परशुराम मेघी गुरुङले ईकान्तिपुरलाई कारवाहीको पुष्टी गर्दै भने । उनलाई पार्टीको नीति विपरित अभिब्यक्ती दिएको आरोप लगाईएको छ ।  

आङकाजीलाई निस्काशन गरिएकोमा पार्टी नेतृत्वसंग असन्तुष्ट रहेका आदिवासी जनजाति नेताहरुले बिरोध गरेका छन् । उनीहरु पार्टी भित्रको अन्तरपार्टी संघर्षको अवस्था समाप्त भएको बताएका छन् । 

'माओवादीले आयोजना गरेको सभामा आङकाजीले एमाले कार्यकर्ता भएर सहभागी भएका थिएनन्, जनजाति महासंघको महासचिवको नाताले सहभागी थिए । त्यहाँ उनले केही अपराध गरेका छैनन्' असन्तुष्ट मध्येका एक पौलिटब्यूरो सदस्य पृथ्वी सुब्बा गुरुङले ईकान्तिपुरसंग भने, 'यो जनजातिहरुमाथि पूर्वाग्रह राखि गरिएको कारवाही हो ।'

आङकाजीलाई कारवाही गर्ने हो भने त्यसको सुरुवात अध्यक्ष झलनाथ खनालबाट सुरु गरिनपर्ने पनि उनको भनाई थियो । पार्टीले कुनै निर्णय नै नगरी पार्टी अध्यक्षले माओवादीसंग सात बुँदे सहमति गरेको, माधव नेपालले नेतृत्व गरेको सरकार ढाल्न बामदेव गौतमले हस्ताक्षर संकलन गरेको, अखण्ड सुदूरपश्चिमको नाममा भीम रावललगायतले हस्ताक्षर गरेको, युवा नेताको नाममा योगेश भट्टराई, नेत्र पन्थीहरुले काँग्रेसका युवाहरुसंग मिलेर विज्ञप्ति जारी गर्ने लगायतका काम पार्टीको नीति र निर्णय विपरित भएकाले कारवाहीको सुरुवात त्यहीबाट गर्नु पर्ने गुरुङले दावी गरे । 

'हामीलाई यो घट्नाले ज्यादै संवेदनशील बनाएको छ, पार्टीको जनजातिहरुप्रतिको पूर्वाग्रहको उदाहरण हो यो' उनले भने, 'यसले अन्तर पार्टी संघर्षको संभावनालाई न्यून बनाएको छ ।' - कान्तिपुर 

No comments: