अब नेपालीको घर घरमा राष्ट्रिय झण्डा

काठमाण्डौं, १ असार । नेपाली सर्वसाधारणले पनि अव आफ्नो निजी निवासमा नेपाली राष्ट्रिय झण्डा फहराउन पाउने भएका छन् । मन्त्रिपरिषद्ले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्याविधि २०६९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि सवैसाधारणलाई निजी निवासमा राष्ट्रिय झण्डा फहराउने छुट थिएन ।

मन्त्रिपरिषद्द्धारा जारी कार्यविधिको दफा ९ मा भनिएको छ, ‘राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउनेगरी सर्वसाधारण नागरिकले समेत निजी निवासमा राष्ट्रिय झण्डा फहराउन वा प्रयोग गर्न पाउने छन् ।’ यसअघि तोकिएको सरकारी कार्यालय र स्थानमा मात्र राष्ट्रिय झण्डा फहराउन पाउने व्यवस्था रहेको थियो ।

निजी निवासमा झण्डा फहराउनेले पनि राष्ट्रिय शोकका दिन अनिवार्य झण्डा झुकाउनुपर्ने छ । विश्वका धेरै देशका नागरिकलाई निवासमा झण्डा फहराउने छुट दिएको छ । - अन्नपूर्ण पोष्ट 

No comments: